वैदेशिक रोजगारीले बालबालिकामा पर्ने समस्या र समाधानका उपाय

वैदेशिक रोजगारीले बालबालिकामा पर्ने समस्या र समाधानका उपाय ।

घरको जेठोबाठो रोजगारीका लागि विदेशिनु परिवारका लागि चुनौतिपूर्ण हो । विदेशिने व्यक्तिलाई छँदैछ घरमा बस्नेहरुलाई नी जिम्मेवारी बढ्छ । प्राय घरमा बस्ने श्रीमती र आमाले त्यो जिम्मेवारी लिनुपर्ने अवस्था आउँछ । यस्तो बेला उनीहरुमा सामाजिक, आर्थिक, धार्मिक, मनोवैज्ञानिक र पारिवारिक रुपमा कामको बोझ बढ्छ । कामको बोझलाई सहि रुपमा व्यवस्थापन गर्न नसक्दा श्रीमती र आमाहरुको व्यक्तिगत बानी, व्यवहार र सोचाईमा परिवर्तन आउँछ । जसको प्रत्यक्ष असर बालबालिकालाई गर्ने व्यवहारमा, दैनिक जीवन, काममा, स्वास्थ्यमा र सम्बन्धमा देखा पर्दछ । परिवारको मुख्य सदस्य वैदेशिक रोजगारिमा गएपछि बालबालिकामा देखापर्ने समस्याहरु शीर्षकमा मनोसामाजिक समुह मनोपरामर्श गर्दा अभिभावकहरुबाट बालबालिकाहरुमा यस्ता व्यवहार तथा समस्या आफूहरुले दैनिक रुपमा भोगेको र महसुस गरेको बताउनु भएको थियो । अभिभावकहरुले सुनाएका कुरा यस्ता थिए । भनेको नमान्ने, अटेरी हुने, जिद्दि हुने र घमण्डी व्यवहार देखाउने । नियमित विद्यालय नजाने । अत्याधिक चन्चले तथा छटपट गर्ने । एक्लै बस्न मन पराउने । डराउने र आत्तिने । घरमा तथा साथीभाइसँग झगडा गर्ने । पढाईमा कमजोर हुँदै जाने । विद्यालयबाट भाग्ने । कक्षाकार्य तथा गृहकार्य नगर्ने । ओछ्यानमा पिसाब गर्ने । साथी बनाउन मन नगर्ने । परीक्षा तथा अन्य प्रतिस्पर्धात्मक क्रियाकलापमा भाग लिन नचाहने । एउटै कक्षामा लगातार फेल हुने । झुटो बोल्ने । आफूले गरेको गल्तीको दोष अरुलाई लगाउने । बालबालिकाहरुमा आएको यस्तो समस्याले गर्दा छलफलमा सहभागी भएका अभिभावकहरुको तनाब बढेको सहजै महसुश गर्न सकिन्थ्यो । त्यसपछि समुहमा मनोपरामर्श छलफलमा आफ्नो बालबालिकाहरुको व्यबहारमा परिवर्तन ल्याउन के के गर्न सकिन्छ भनेर छलफल भयो । जस्तै बालबालिकाहरुले गरेको सानो कामको प्रशंशा गर्न नहिचकिचाउने तथा सानो सफलतामा स्याबासी दिने बानी विकास गर्ने, दैनिक बोलीचालीमा बालबालिकाहरु उत्साहित हुने किसिमको शब्दको प्रयोग गर्ने, अभिभावकहरुको आफनो दैनिक व्यवहार, स्वभाव र बानी नियाल्दै त्यसमा परिवर्तन ल्याउने, बालबालिकाहरुलाई अरु व्यक्तिका अगाडी गाली नगर्ने, सबै बालवालिकाहरुमा एउटै क्षमता नहुने भएकोले अरु बालबालिकासँग नदाँज्ने । बालबालिकाहरुको व्याहार परिवर्तन गर्न अभिभावकले यी उपाय अपनाउन सकिन्छ । बालबालिकासँग झुटो नबोल्ने, नरिसाउने, उनीहरुको अगाडी निराश नहुने र नआतिने । बालबालिकाको उमेर अनुसार कामको बाँडफाँड गरिदिने । दिनभर गर्ने कामको सूची बनाएर रोज्न लगाउने । बालबालिकालाई स्वभाव र क्षमता अनुसार काम लगाउने तर दबाव नदिने । बालबालिकालाई म मेरो छोराछोरी यस्तो भएको हेर्न चाहन्छु । त्यसैले तिमीले यस्तो कार्य गरेमा म खुशी हुन्छु । यस्तो काम गरेमा दुःखी हुन्छु भनेर आफनो अपेक्षा स्पष्ट रुपमा बताउने । यी उपाय सुनाइ छलफल गरिसकेपछि समुह छलफलको सुरुमा बालबालिकाहरुलाई पिटेर तह लगाउने बताएका अभिभावक अन्तमा हाम्रो आफ्नै बानी व्यावहारले बालबालिकाहरुको व्यवहार निर्धारण गर्ने रहेछ भन्ने निष्कर्षमा पुग्नु भएको थियो । भट्टराई सर्लाहीको ग्रामिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा हरिऔनमा संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा मनोसामाजिक परामर्शकर्ताको रुपमा कार्यरत हुनुहुन्छ ।

Comments

Popular posts from this blog

अनुहारको दाग हटाउने सही तरीका